बैंकका सीईओलाई अर्थमन्त्रीको प्रश्नः कर्जाको माग किन बढ्न सकेन ?

बैंकका सीईओलाई अर्थमन्त्रीको प्रश्नः कर्जाको माग किन बढ्न सकेन ?


बैकिङ्ग समाचार,काठमाडौं । 

अर्थमन्त्री प्रकाशशरण महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई कर्जाको माग बढ्न नसक्नुको कारण के हुनसक्छ भन्दै प्रश्न गरेका छन् ।आइतबार साँझ सबै बैंकका सीईओहरुलाई अर्थ मन्त्रालयमा बोलाएर उनले  अर्थतन्त्र सुधारोन्मुख देखिएको भएपनि आर्थिक गतिविधि र लगानी नबढेको किन हो ? भन्दै उनले प्रश्न गरेका हुन् ।

घरजग्गामा विगतमा सट्टेबाज ज्यादा भएको र त्यो साइजमा आउनैपर्ने भएकाले अहिले आएको अर्थमन्त्री महतले बताए । 

बैंकिङ क्षेत्रले पनि माग कसरी बढाउन सकिन्छ भनेर सोच्नुपर्ने उनको भनाई छ  ।अर्थमन्त्री महतले ऋणीका चासोलाई पनि ख्याल गर्दै कर्जा उठाउनेमा केन्द्रित हुनुपर्ने बताए । राष्ट्र बैंकबाट नीतिगत दर घटाएर पनि सहयोग भएकाले साँच्चै समस्यामा परेका ऋणीलाई भने केही सहज बनाइदिनुपर्ने पनि उनको भनाइ छ ।

बैंकरहरुले भने निक्षेपको ब्याजदर निर्धारणमा थप स्वतन्त्रता दिन माग गरेका थिए । बचत र मुद्दति खातामा ५ प्रतिशतको ब्याजदर अन्तर हुनैपर्ने वर्तमान व्यवस्था हटाउनुपर्ने उनीहरुको माग थियो ।

खराब कर्जा गणनाको विधि परिवर्तन गरी प्रि–कोभिडको जस्तै बनाउनु पर्ने र असल कर्जामा अहिलेको १.३ प्रतिशत प्रोभिजनलाई घटाएर १ प्रतिशत बनाउनुपर्ने उनीहरुले अर्थमन्त्रीसमक्ष बताए । 

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासंघका अध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स संघका अध्यक्ष सुनिल केसी सहभागी थिए ।