नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८८’ निष्कासन गर्दे  

 नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८८’ निष्कासन गर्दे  


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८८’ निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकका लागि १० वर्षे अवधिको विकास ऋणपत्र साउन २९ गतेदेखि निष्कासन गर्न लागेको हो ।

उक्त विकास ऋणपत्र खरिद गर्नेका लागि साउन २८ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुने बताइएको छ । ऋणपत्र खरिद गर्न चाहनेहरूले उक्त समयभित्र राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफट्वेयरमार्फत् बोलकबोल पेस गर्नुपर्ने छ । यो ऋणपत्रको सावाँ भुक्तानी २०८८ साउन २९ गते हुनेछ । ब्याज मुक्तानी भने अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने जानकारी दिइएको छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने छन् ।

प्रतिस्पर्धी बोलवालाहरूलाई ८५ प्रतिशत र अप्रतिस्पर्धी बोलवालाहरूलाई १५ प्रतिशत छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलकबोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने बताइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलकबोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र उक्त ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने जानकारी दिइएको छ ।

बोलकबोलवालाले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक खरिद गर्न पाउनेछन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत कारोबार हुने बताइएको छ ।