हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफलाई बिक्री गर्न राष्ट्र बैंकको अनुमति


काठमाडौं – नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंकको स्वीकृति पाएपछि अब हबिब बैंकको नाममा रहेका संस्थापक शेयर नेशनल लाइफमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

पाकिस्तानको हबिब बैंक लिमिटेडले आफूसँग रहेका हिमालयन बैंकका २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर नेशनल लाइफलाई बिक्री गर्न साउनको अन्तिम साता सम्झौता गरेको थियो। सम्झौताअनुसार कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको हो।

हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा रहेका संस्थापक शेयर खरीदका लागि संस्थापक शेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो।

हाल हिमालयन बैंकमा नेशनल लाइफ इन्स्योरेन्सको १ दशमलव २५ प्रतिशत शेयर हिस्सा रहेको छ। यो शेयर खरिदपछि नेशनल लाइफको स्वामित्व १४ प्रतिशत पुग्नेछ।