सनराइज बैंकका तत्कालीन सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश


काठमाडौं – जिल्ला अदालत पर्साले सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई धरौटीमा छाड्न आदेश दिएको छ। अदालतका न्यायाधीश देवीकुमारी चौधरीको एकल इजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको हो।

अदालतको आदेशअनुसार उनले दुई लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत दिएर तारेखमा बस्न सक्नेछन्। तोकिएको धरौटी दिन नसके कानुनबमोजिम थुनामा पठाउन आदेशमा उल्लेख छ। शर्माले अदालतसमक्ष आफूले आरोपित कसुर नगरेको भन्दै बयान दिएका थिए।

तर, उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी परेको र उक्त जाहेरीलाई समर्थन गर्ने घटना विवरण कागज, जाहेरवाला तथा प्रतिवादी बैंकबीच भएको संस्थागत कर्जाका लागि व्यक्तिको धितोबन्धक (सुरक्षण) लिखत र बैंकबाट प्राप्त पत्रलगायत तत्काल प्राप्त प्रमाणहरू रहेको अदालतले जनाएको छ। उपलब्ध प्रमाणका आधारमा अहिले नै उनी आरोपित कसूरमा दोषी छैनन् भन्न सकिने अवस्था नरहेको अदालतको ठहर छ। यद्यपि, मुद्दामा थप प्रमाण बुझ्दै जाँदा तथ्यका आधारमा निर्णय हुने आदेशमा उल्लेख गरिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम दफा ७२ समेतलाई आधार मानी अदालतले उनको हकमा दुई लाख रुपैयाँ धरौटी तोकेको हो। धरौटी बुझाउन नसके दफा ८० बमोजिम थुनुवा पुर्जी दिई थुनामा पठाउन तथा धरौटी बुझाएमा दफा ७९ बमोजिम मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्न अदालतले आदेश दिएको छ।