सञ्चालकले जुनसुकै समय शेयर बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरको माग 

सञ्चालकले जुनसुकै समय शेयर बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरको माग 


बैकिङ्ग समाचार, काठमाडौं ।

सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको शेयरलाई बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाबारे नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको भन्दै  अर्थमन्त्री महतलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

सञ्चालकले आफ्नो स्वामित्वको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले माग गरेको छ ।

कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरको भनाइ छ । बोर्डको निर्णयले व्यवसायीहरुलाई मर्कामा पार्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । आफूसँग भएको शेयरको कम्तिमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले ध्यानाकर्षण गराएको हो ।

‘धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने’ व्यवस्था व्यवसाय अनुकूल छैन’, ध्यानाकर्षणपत्रमा उल्लेख छ ।