काठमाडौं – शुक्रवार रातिदेखि अविरल रूपमा परेको वर्षापछि देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका घटनाहरू बढेका छन् । मनसुनजन्य विपद्का कारण कयौँ स्थानमा जनजीवन प्रभावित भएको छ भने केही स्थानहरूमा जनधनको क्षति समेत भएको छ । हालसम्ममा यति नै क्षति भयो भने विवरण आई नसकेको प्रहरीको भनाई रहेको छ । पहिरोका कारण सडक अवरुद्ध भएका छन्, जसले गर्दा यातायात र आपत्कालीन सेवामा समेत कठिनाइ भएको छ ।
देशव्यापी रूपमा नै परेको पानीले मुलुकको पूर्वीय क्षेत्रमा अलि बढी प्रभाव परेको छ । त्यसैले गर्दा जेनजी आन्दोलनमा तहसनहस भएको प्रहरी उदारका लागि खटिएका छन् । भदौ २४ गतेको विध्वंसकारी जेनजी आन्दोलनमा सबै लुटिएको प्रहरी अहिले बढी पहिरोमा फसेका नागरिकहरूलाई उदार गर्नका लागि दिनरात नभनी खटिएका हुन् । आन्दोलनका क्रममा केही समूहले प्रहरीहरूको मनोबल नै कमजोर बनाएपनि प्रहरी संगठन पुर्नगठगित हुँदै देशका विभिन्न स्थानमा विपद्को सामना गरिरहेका नागरिकहरूको उद्धार कार्यमा खटिएका छन् ।

जेनजी आन्दोलनको सबैभन्दा तनावपूर्ण दिनहरूमा सहकर्मी गुमाएका, आफैँ घाइते भएका प्रहरीहरू अहिले जनसेवामा खटिएका हुन् । आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भएपनि परिस्थितिले जटिल मोड लिँदा त्यसको सबैभन्दा ठुलो चपेटामा प्रहरी परेको थियो । आन्दोलनको आडमा उनीहरूमाथि आक्रमणसँगै चौकी जलाउनेदेखि हत्या, लुटपाट भोग्नुपरेको थियो । तर, सर्वसाधारणको आक्रमणमा परेपनि त्यसको केही हप्तापछि, प्रहरीहरू बाढी र पहिरोमा फसेका सर्वसाधारण उद्धार गर्न गाउँ पसेका छन् ।
प्रहरीहरू अक्सिजनको सिलिन्डरसहित सिरानी, राहतको बोराहरू लिएर बाढी पहिरोले क्षति गरेको क्षेत्रहरूमा उदारका निम्ति खटिएका हुन् । जेनजी आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति भएको निकाय भएतापनि पुनर्निर्माण नागरिकले गरेको महत्त्वपूर्ण योगदानका कारण सबैभन्दा पहिला र सबैभन्दा छिटो नै प्रहरीका बिटहरू सुरुमा पूर्ण तयार भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दान बहादुर कार्की बताउँछन् । उनी भन्छन्, ‘प्रहरीको जागिर एउटा जागिर भन्दा पनि नागरिकको सेवा गर्ने अवसर हो ।’
प्रहरीका अनुसार, प्रहरी कार्यालयहरूबाट विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ । कोशी प्रदेशमा हाल पनि जोखिम रहेको अवस्थालाई मध्यनजर गरी संयुक्त रूपमा सुरक्षाकर्मी परिचालित भइरहेको छ भने पश्चिमी क्षेत्रको अवस्था सामान्य भैसकेको प्रहरी प्रवक्ता विनोद घिमिरे बताउँछन् । काठमाडौंमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएका थिए । प्रवक्ता घिमिरेका अनुसार गत शुक्रबारबाट परेको वर्षाका कारण गएको पहिरोले सबैभन्दा बढी क्षति इलाममा गरेको छ ।

अघिल्ला वर्षहरूको तुलनामा अलि बढी संवेदनशील हुने भनिएको यसपालीको दसैं बाढी र पहिरोका कारणले गर्दा झनै जोखिम पुन बन्न पुगेको सरोकारवाला बताउँछन् । शुकबारदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले हालसम्म २२ जनाको ज्यान गएको प्रवक्ता घिमिरेले बताएका छन् । शुक्रवार र शनिवार निरन्तर आएको वर्षाका कारण इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको हो ।
यस्तै, उदयपुरमा खोलामा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको उनी बताउँछन् । पहिरोमा परेर मात्र नै १८ जना बेपत्ता को मृत्यु ६ जनाको उदार भएको छ । उदपुरमा १ जनाको मृत्यु २१ जनाको उदार गरिएको उनी बताउँछन् । साथै, रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । गोसाइँकुण्डमा पनि ४ जना बेपता रहेका छन् । बेपता हुनेहरूको खोजी कार्य तीव्ररूपमा भइरहेको कार्की बताउँछन् ।

त्यस्तै, डुबानमा फसेका, पहिरो फसेकाहरूलाई उदार गर्ने कार्य धमाधम भइरहेको उनी बताउँछन् । ‘पछिल्लो समयमा पूर्वमा बाढी पहिरोको जोखिम उच्च रहेको छ,’ उनले भने । पश्चिम क्षेत्रहरूको अवस्था सामान्य भैसकेको प्रवक्ता घिमिरेले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताएका छन् । उनका अनुसार पूर्वीय नेपालका क्षेत्रहरूको अवस्था अझै पनि गम्भीर नै रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, देशका विभिन्न भागमा आएको बाढी पहिरोले दर्जनौँ सडक अवरुद्ध भएका छन् । प्रहरीका अनुसार देशभरका २० वटा राजमार्ग पूर्ण रूपमा बन्द भएका हुन् । सडक बन्द हुँदा खाद्यान्न, इन्धन, र अन्य आवश्यक वस्तुहरू ढुवानीमा समस्या भएको छ। ग्रामीण भेगका बासिन्दा स्वास्थ्य सेवा, विद्यालय तथा कार्यालय जान नपाएका छैनन् । बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति पुराएकाले गर्दा पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरोसहित ढुङ्गा झरी बाटो पूर्ण रूपमा अवरोध भएको प्रहरीले बताएको छ ।
कहाँ के हुँदैछ ?
सप्तकोसी नदीमा आएको पानीको बहाव अत्यधिक बढेसँगै आज बिहान कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन् । यसअघि आज बिहानै पानीको बहाव ३ लाख ३५ हजार क्युसेक पुगेपछि ५० वटा ढोका खोलिएको थियो । तर, नदीको बहाव झनै बढे पछि सम्पूर्ण ढोका खोल्नुपरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताए । तर, निरन्तर वर्षाका कारण पानीको सतह झनै बढेपछि बाँकी ढोकाहरू समेत खोलिएको उनी बताउँछन् ।
यसअघि गत भदौ १७ गते पनि नदीमा बहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसपछि केही दिन पानीको बहावमा गिरावट आएको भए पनि शुक्रवार र शनिबारको लगातार वर्षाका कारण आजदेखि फेरि बहाव तीव्र रूपमा बढेको हो। सामान्यतः कोशीमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिने गरिन्छ । अहिलेको बहाव त्यसको झन्डै तीन गुणा बढी रहेको छ ।
त्यस्तै, धनकुटामा अरुण नदीको जल सतह ११.२३ मिटर र तमोर नदीको ११.४७ मिटर पुगेको छ, जुन दुवै खतराको तहभन्दा माथि हो। यस्तै सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जल सतह ७.१३ मिटर पुगेको छ। सुनसरीमै रहेको केशलिया नदी र इलामको कन्काई नदीले पनि खतराको तह पार गरेका छन् । कन्काई नदीमा जल सतह ५.६१ मिटर मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ती नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नदी कटान, डुबान र बाढीका कारण करिब १५०० मिटर तटबन्ध कटान भई १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आङ्कलन गरिएको छ । कन्काई, मेची, कमला, केशलिया, लालबकैया र रातो नदीमा आएको बाढीले तटबन्ध कटान गर्नुका साथै सयौँ घर डुबानमा परेका छन् । झापाको गौरीगञ्जमा ११४ घर र ५०० हेक्टर धान खेत डुबानमा परेको छ भने महोत्तरीमा मात्र ८९० मिटर तटबन्ध कटान भई ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
सुनकोशी मरिन डाइभर्सनको निर्माणाधीन बाँध डुबानमा परेपछि त्यसको अवस्था अझै यकिन हुन सकेको छैन् । पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ लगायतका स्थानमा पहिरोका घटनाहरू भए पनि विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।






About Us
प्रतिक्रिया