काठमाडौं – आज विश्वभरि लगानीको सजिलो माध्यममध्ये एक बनेको छ, शेयर बजार । यसमा आफ्नो बचतको थोरै रकम पनि लगानी गर्न सकिन्छ र आवश्यक पर्दा सजिलै नगदमा रूपान्तरण गर्न सकिन्छ । शेयर बजारको नेपालको सन्दर्भमा यसको इतिहास निकै चाखलाग्दो छ ।
नेपालमा शेयर बजारको यात्रा वि.सं. १९९४ सालमै सुरु भएको हो । त्यतिबेला विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले पहिलो पटक सर्वसाधारणका लागि शेयर जारी गरेका थिए । खासगरी नेपाल बैंक लिमिटेडको नाम अझै विशेष रूपमा रहन्छ । यो नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने पहिलो कम्पनी बनेको हो ।
तर, त्यो समय सहजै शेयर कारोबार चल्न सकेन । यी दुई कम्पनीले शेयर निष्कासन गरे पनि अन्य संस्थाहरूले लामो समयसम्म बजार प्रवेश गरेनन् । यसबीच ०२१ मा कम्पनी ऐन जारी भएपछि पहिलो सरकारी ऋणपत्र ल्याइए पनि व्यवस्थित कारोबार प्रणाली भने थिएन । धितोपत्र किनबेचका लागि कुनै स्पष्ट संयन्त्र वा नियामक निकाय अभावमा बजारको गति सीमित नै रह्यो ।
पछि मात्र, ०३३ मा सेक्युरिटीज एक्सचेन्ज सेन्टर स्थापना गर्दै धितोपत्र कारोबारलाई औपचारिक स्वरूप दिइयो । सात वर्षपछि, ०४० सालमा यही केन्द्र रूपान्तरण भई अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बनेको हो । यसरी हेर्दा, नेपालको शेयर बजारले लामो समयदेखि क्रमिक रूपमै विकास गर्दै आएको देखिन्छ । सुरुमा केही संस्थाको पहल, त्यसपछि सरकारी ऋणपत्र, अनि औपचारिक नियामक निकायको स्थापना, यी सबै चरणहरूले आजको नेप्से निर्माणको आधार तयार पारेका हुन् ।
धितोपत्र कारोबारलाई व्यवस्थित बनाउन ०४० मा ‘धितोपत्र कारोबार ऐन’ जारी ग¥यो । सो ऐनले पुँजी बजारमा अपेक्षा गरेअनुसारको विकास हुन नसकेको भन्दै धितोपत्र कारोबार ऐन २०४० लाई प्रथम संशोधन गरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न नेपाल सरकारबाट ०५० जेठ २५ गते धितोपत्र बजार नियमनकारी निकायको रूपमा धितोपत्र बोर्डको स्थापना भएको थियो ।
त्यस्तै, पुँजी बजार सुधार गर्न र दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले ०६३ मा सरकारले ‘धितोपत्र सम्बन्धी ऐन २०६३’ लागू गर्यो । त्यससँगै, पुँजीबजार व्यवस्थित गर्न ‘धितोपत्र बजार सञ्चालन नियमावली २०६४’ पनि आयो । हाल नेपालको पुँजी बजार तथा धितोपत्र कारोबारलाई यसै ऐन तथा नियमावलीले निर्देशित गर्दै आएको छ ।
हाल डिम्याट र मेरो शेयर खाताको संख्या
पछिल्लो समय नेपालमा शेयर बजारप्रति लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) को तथ्यांकले देखाएको छ । बजारले लगानीकर्ताले अपेक्षा गरेजस्तो गति लिन नसके पनि डिम्याट र मेरो शेयर खाता खोल्नेको संख्या दैनिक रूपमा बढिरहेको छ । सिडिएससीकाअनुसार वि.सं. २०८२ को भदौसम्म डिम्याट खाता खोल्नेको संख्या करिब ७० लाख १९ हजार पुगेको छ । यो संख्या आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा मात्र ५८ लाख २३ हजार थियो ।
यस्तै, मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । आर्थिक वर्ष ०८१/८२ को भदौसम्म मेरो शेयर प्रयोगकर्ता करिब ६० लाख ९१ हजार पुगेका छन् । आर्थिक वर्ष ०७९/८० को अन्त्यमा यो संख्या ४७ लाख ४१ हजार ५५ मात्र थियो। आव ०८०/८१ को अन्त्यसम्म भने प्रयोगकर्ता संख्या बढेर ५३ लाख २२ हजार ९६९ पुगेको थियो ।
यी तथ्यांकहरूले पछिल्लो समय नयाँ लगानीकर्ताको प्रवेश बढ्दै गएको र शेयर बजारप्रति आकर्षण निरन्तर विस्तार भइरहेको देखाएको छ ।
सूचीकृत कम्पनीको संख्या
नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा विराटनगर जुट मिल लिमिटेड र नेपाल बैंकले शेयर निष्काशन गरेसँगै शेयर बजारको विकास भएको पाइन्छ । जुन विराटनगर जुट मिल नेपालको पहिलो उद्योग कम्पनी र नेपाल बैंक देशकै पहिलो वाणिज्य बैंक हो । यी दुई कम्पनी नेप्सेमा पुराना र पहिलो सुचीकृत कम्पनीहरू हुन् । तर पछि चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । जसले गर्दा हाल नेप्सेमा यो कम्पनी सुचिकृत भने छैन ।
विं.स. १९९४ देखि हाल २०८२ सम्म आइपुग्दा शेयर बजारले ठूलो फड्को मारेको छ । हाल नेप्सेमा सूचीकृत साना तथा ठूला कम्पनीहरू गरी २७० भन्दा बढी रहेका छन् । जसमा १३ वटा सेक्टरमा विभाजित कम्पनीहरू रहेका छन् । जस्तै, हाइड्रोपावर, लघुवित्त, बैंकिङ्ग समूह, बीमा, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजम जस्ता सेक्टरका कम्पनीहरू नेप्सेमा सुचिकृत छन् ।
त्यस्तै, ट्रेडिङ इन्डेक्स, उत्पादनमूलक तथा प्रशोधन केन्द्रित कम्पनीहरू, अन्य सेक्टरहरू, म्यूचुअल फण्ड जस्ता सेक्टरहरू नेप्सेमा सचिकृत छन् । साथै, नेप्सेमा हाल दैनिक ३ सयभन्दा बढी कम्पनीहरूले शेयर कारोबार गर्दै आएका छन् ।





About Us
प्रतिक्रिया