६ वर्षमा २३ हजार बढी बैंकिङ कसुर सम्बन्धी मुद्दा, ४४ अर्ब बढी बिगो 

६ वर्षमा २३ हजार बढी बैंकिङ कसुर सम्बन्धी मुद्दा, ४४ अर्ब बढी बिगो 


बैकिङ्ग समाचार,काठमाडौं । 

पछिल्ला ६ वर्षमा २३ हजार ६ सय ६० बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएको तंथ्याक नेपाल प्रहरीसँग छ । यो मध्ये ६ वर्षमा फरार भएका ७ हजार ५८ जना पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिएका छन् ।  

प्रवक्ता कडायतले दिएको तंथ्याकअनुसार आ.व २०७४÷७५ मा ७ सय ५५ मुद्दा दर्ता भएका छन् । त्यसको बिगो रकम २ अर्ब ९३ करोड ५७ लाख ३० हजार ४ सय ३९ रहेको छ ।  यसमा प्रहरीले ४ सय ४६ जनालाई पक्राउसमेत गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा ३ हजार ३६ मुद्दा दर्ता भएकोमध्ये १ हजार १ सय ९३ जना पक्राउ परेको प्रहरीको तंथ्याकमा छ । यसमा १ बिगो रकम १ अर्ब ५९ करोड १० लाख ६५ हजार ९ सय ४३ रहेको छ । 

त्यस्तै, आ.व. २०७६÷७७ मा ३ हजार ३ सय १५ मुद्दामा १ हजार २ सय १९ जना पक्राउ परेका र बिगो रकम २ अर्ब ९३ करोड ३७ लाख ५६ हजार २ सय ९० रहेको छ  । 
आ.व.२०७७ ÷७८ मा २ हजार ३ सय ६५ मुद्दा दर्ता भएका मध्ये १ हजार १२ जना पक्राय परेका छन् र बिगो रकम ३ अर्ब ७० करोड ५८ लाख ४१ हजार ९७ रहेको छ ।  आ.व. २०७८÷७९ मा  भने मुद्दा दर्ता हुने संख्या बढेर ५ हजार ४ सय १६ पुगेसँगै पक्राउ पर्नेको संख्या १ हजार ५ सय ६८ पुगेको छ  । यसमा बिगो रकम १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार १ सय ७९ रहेको छ ।

र गत आर्थिक वर्ष २०७९÷८० को चैत्रसम्मा ८ हजार ७ सय ७३ बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएका थिए भने १ हजार ६ सय २० जना पक्राउ परेका थिए । यसमा बिगो रकम १९ अर्ब १९ लाख ५४ हजार ५ सय ३७ रहेको छ । 
बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने र सरकार आफैँ नै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ । यस्तो मुद्दा पछिल्लो समय बढ्दो ०७९ सम्मको तथ्यांकले देखाएको हो । 

तथ्यांकअनुसार हरेक वर्ष बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै पनि गएको छ । आव ०७४÷७५ मा बैंकिङ कसुरमा ७ सय ५५ वटा मात्रै मुद्दा परेका थिए । तर, चालू आर्थिक बर्षसम्म आउँदा त्यस्तो संख्या निकै माथि पुगेको छ । हरेक वर्ष यस्तो मुद्दाको संख्या उच्चदरमा बढेको तथ्यांकमा उल्लेख छ । 

अहिले चेक बाउन्स, घरजग्गा कारोबार, वैदेशिक रोजगारी, व्यापार व्यवसाय, सामान खरिद बिक्री तथा लेनदेनसँग जोडिएका सयौं घटनामा सर्वसाधारणको अर्बाैं रुपैयाँ ठगी भइरहेको छ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने आश्वासन पूरा नभएपछि दिएको चेकका आधारमा आफ्नो रकम फिर्ता गराउन, घरजग्गा आफ्नो नाममा पास गराई बाउन्स भएको चेकमा उल्लिखित रकम फिर्ता गराउन, सामान्य कारोबारदेखि करोडौं रुपैयाँसम्म चेक बाउन्समार्फत ठगिएर त्यसको क्षतिपूर्ति समेत माग गरी विशेषतः अहिले पीडित सर्वसाधारणको ठूलो समूह प्रहरी कार्यालयहरूमा धाउन बाध्य भएका छन् । 

चेक बाउन्सका विभिन्न स्वरूप जस्तै वैदेशिक रोजगारी, घरजग्गा किनबेच, जागिर, सेयर तथा चिठ्ठा, अनलाइनमार्फत रकम असुली, किर्ते कागजात लगायतका कार्यहरू गरी ठगी गर्नेहरूको चेक बाउन्स हुने गरेको छ । ठूला व्यापारिक लेनदेनदेखि घरजग्गा कारोबार हुँदै सामान्य लेनदेनसम्ममा पनि चेक बाउन्सको विवाद विकराल बन्दैछ ।