बैकिङ्ग समाचार,काठमाडौं ।
भन्सार विभागले बुधबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५५ किलो अवैध सुन बरामद गरेर छानबिन अघि बढाएको छ । विदेशबाट अवैधरुपमा भन्सार छलेर ल्याइएको सुन चेकजाँचका क्रममा फेला परेपछि अन्तर्राष्ट्रिय भन्सार कार्यालयले बरामद गरेको हो ।
उक्त प्रकरणमा अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार साँझसम्म चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ पनि गरेको छ । कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भने भइसकेको छैन् ।
बरामद भएको सुन हालसम्मकै ठूलो परिमाणको भएको बताइएको छ । यसरी हरेक पटक भित्रिएका अवैध सुन कहाँ जान्छ, सरकारले सुनको व्यवस्थापन कसरी गर्छ त यो सबैको चासोको बिषय बनेको छ ।
राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकले किन्ने र राष्ट्रबैंकले विभिन्न बैंकहरुलाई बेच्ने गरेको भन्सार विभागका प्रवक्ता पुण्य बिक्रम खड्काले बताएका छन् ।
‘राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकले किन्ने गर्छ । प्रहरीले सुन समातिसके पछि पक्राउ परेका अभियुक्तलाई राजश्व अनुसन्धान विभागलाई बुझाउँछ । अभियुक्तलाई म्याद थप गरी मुद्दा चलाउँछ ।’
‘विभागले राष्ट्र बैंकलाई सुन बुझाउँदा त्यस दिनको अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्याङ्कन हुन्छ । मूल्याङ्कन भएको सुनको मूल्य राष्ट्र बैंकले सरकारको राजश्व खातामा रकम भुक्तानी गर्छ र सुन आफ्नो गोदाममा राख्ने गर्छ ।’
‘राज्यले अवैध रुपमा भित्रिएको सुनचाँदीको गहना समातेमा भने राष्ट्र बैंकले गहनालाई शुद्धिरण गरेर त्यसको रसायन हटाएर सुन शुद्ध भएपछि मा त्यसको मूल्याङ्कन गरेर मात्रै राजश्व खातामा पैसा जम्मा गरिदिन्छ । ’
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटोबाट ल्याइने अवैध सुन विमानस्थलको भन्सार कार्यालयले जफत गर्छ । यस्तै, देशका अन्य भन्सार नाकाबाट ल्याइएको सुन समेत सोही नाकामा अवस्थित भन्सार कार्यालयले जफत गर्ने गर्छ । तर, भन्सार छलेर अवैधरुपमा देशको सीमा भित्र छिरेको सुन भने नेपाल प्रहरीको विभिन्न निकायले जफत गर्दै आइरहेको छ । यस्तै, अध्यागमन विभागले समेत अवैधरुपमा नेपाल भित्रिएको सुन जफत गर्ने गर्छ ।
यसरी विभिन्न स्थानमा जफत गरिएको सबै सुन भन्सार कार्यालयमा जान्छ भने मुद्दामामिलाको विषय नेपाल प्रहरीले हेर्छ ।
अदालतले अवैधरुपमा ल्याएको सुन वा भ्रष्टाचारको भनेर फैसला गरेपछि भन्सार विभागले उक्त सुन वा चाँदीलाई आफ्नो सम्पत्तिका रुपमा प्रयोग गर्न पाउने बाटो खुल्छ । र, भन्सार विभागले उक्त सुनका सुद्धताका आधारमा तत्कालीन समयको बजार मूल्यअनुसार नेपाल राष्ट्र विभागलाई हस्तान्तरण गर्छ । र, केन्द्रीय बैंकले तत्कालीन प्रचलित मूल्यअनुसार उक्त सुन वा चाँदीको मूल्य विभागको खातामा जम्मा गरिदिन्छ ।



About Us
प्रतिक्रिया