३६६ कर्मचारी र २२६ निर्वाचित पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ७७ करोड बिगो दाबी

३६६ कर्मचारी र २२६ निर्वाचित पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ७७ करोड बिगो दाबी


बैंकिङ समाचार,काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष गत आर्थिक बर्षमा (२०७९÷८०) मा सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक विवरण अनुसार गत आ.व.मा आयोगले कूल एक सय ६२ मुद्दा दायर गरेको छ । ती मुद्दामा प्रतिवादीको संख्या सात सय ६० रहेको छ । त्यसमा विशिष्ट श्रेणीका कर्मचारी एक, अन्य कर्मचारी तीन सय ५५, विचौलिया वा मतियारलगायत एक सय ७८ जना रहेका छन् ।

उनिहरुलाई आयोगले एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

सार्वजनिक सम्पत्तिको हानिमा २७ वटा मुद्दा दायर हुँदा एक सय ५० जनालाई प्रतिवादी बनाइएको छ । गैरकानूनी सम्पत्ति आर्जनमा १३ वटा मुद्दा दायर हुँदा २९ जनालाई प्रतिवादी बनाइएको छ ।

यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्रका आठवटा मुद्दा दायर हुुँदा आठै जना प्रतिवादी कायम गरिएको छ । राजस्व हिनामिनामा सातवटा मुद्दामा ४६ जनालाई प्रतिवादी कायम गरिएको छ । विविधतर्फ ११ वटा मुद्दा दायर हुँदा ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

गत आर्थिक वर्षमा आयोेगले ३७ पटक आकस्मिक कारबाही गरेको थियो । त्यसमा ४० कर्मचारी घुस रकमसहित पक्राउ परेका थिए । त्यसैगरी, छ बिचौलिया र आठजना निर्वाचित पदाधिकारी पक्राउ परेको प्रवक्ता दाहालले जानकारी दिएका छन्  । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारको मुद्दामा ७६० जनालाई प्रतिवादी बनाएको छ । 

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९÷०८०मा दायर भएका १६२ वटा मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएको प्रवक्ता भोला दाहालले जानकारी दिएका हुन्  ।