१७ अर्ब ७० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१७ अर्ब ७० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि बोलकबोल आह्वान गरेको हो ।

जसअनुसार १० अर्ब रुपैयाँको २८ दिने र ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी गरिनेछ ।

यसपटक बैंकले आह्वान गरेजति सबै पौने १८ अर्ब बराबरको ट्रेजरी बिल नै पुरानो बिक्री गर्न लागेको हो ।

पछिल्लो पटकको बोलकबोलमा ६.३४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ६.७ प्रतिशत र सबैभन्दा कम २.४९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकामा गत शुक्रबारसम्म २ खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख उठाइसकेको छ । जसअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ र चौथो त्रैमासमा १ खर्ब ५६ अर्ब उठाएको हो ।