एनआईसी एशिया बैंकद्वारा पाँच परिवारलाई ५० लाख दुर्घटना बीमावापतको रकम हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा पाँच परिवारलाई ५० लाख दुर्घटना बीमावापतको रकम हस्तान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ५० लाख हस्तान्तरण गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो ।

दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्ने ग्राहकमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडका भाइ राजनप्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल र बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लुराम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारी छन् ।

ती लाभग्राहीले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका बैंकले जनाएको छ । बैंकको बीमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले तीन करोड, दुर्घटना बीमा वापत १७ जनाले एक करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले चार करोड ७० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।