‘बैंकको कर्मचारी हुँ’ भन्दै  ओटिपी मागेर ११ लाख ठगी गर्ने एक जना पक्राउ

‘बैंकको कर्मचारी हुँ’ भन्दै  ओटिपी मागेर ११ लाख ठगी गर्ने एक जना पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं ।

विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाइन मार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–१ का २१ वर्षीय महमद जोजाहिद मिया रहेका छन् ।

उनले बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गर्ने गरेका थिए । 

यसरी उनले अहिलेसम्म ११ लाख १२ हजार ८०० रकमान्तर गरी ठगी गरेको पाइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सुरुमा पीडितलाई मोबाइलबाट फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैंक खातासँग वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ गरिदिने आश्वासन दिएका हुन् । 

त्यसो गर्दा पैसा नलाग्ने र राम्रो बोनस प्राप्त हुने गरी काम गरिदिने भनी लोभ देखाएर विश्वासमा पार्ने गरेको । त्यसपछि पीडितहरूकै बैंक खातालगायत, ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्याएर अन्यत्र बैंक खाता तथा वालेटहरूमा पैसा रकमान्तर गरेको फेला परेको रेग्मीले बताएका छन् ।

उक्त घटनामा जाहेरी परेपछि उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमार्फत थप अनुसन्धान गरिरहेको छ ।