ग्वार्कोमा सार्वजनिक गाडीबाटै ९ लाखभन्दा बढी रकम चोरी, चार जना समातिए

ग्वार्कोमा सार्वजनिक गाडीबाटै ९ लाखभन्दा बढी रकम चोरी, चार जना समातिए


बैंकिङ्ग समाचार, काठमाडौं ।

ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ डलर (९ लाख २३ हजार १ सय ५७ रूपैयाँ) चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

चोरी भएको जाहेरी परेपछि खोजतलास क्रममा दुई लाख नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मंगललक्ष्मी श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरी थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ।

उनीहरूका साथबाट दुई लाख नगदसहित मोबाइल बरामद गरिएको छ। उक्त डलर साट्ने कार्यमा मंगललक्ष्मी श्रेष्ठ संलग्न रहेको फेला पारेपछि उनलाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई चोरीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल बुझाइएको रेग्मीले जानकारी दिए।