तलब नपाएपछि विपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीले दिए धर्ना

तलब नपाएपछि विपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीले दिए धर्ना


बैंकिङ समाचार,काठमाडौं । 

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत  कर्मचारी आन्दोनमा उत्रिएका छन् । बैशाख महिनादेखिको तलब नियमित नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् ।

कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।

बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो । बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ ।
तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरुको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए ।

भागबन्डा नमिल्दा रोकियो नियुक्ति

क्यान्सर अस्पतालको बोर्ड सदस्य ६ जना खाली छ । नियुक्ति गर्ने ६ जनाको नाम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । तर, प्रचण्डले स्वास्थ्यमन्त्रीले बुझाएको नाममा चित्त नबुझाएका कारण भागबन्डा हुन नसकेको हो ।

स्रोतका अनुसार मन्त्रीले बुझाएको लिष्टमा एक जनामात्रै माओवादी निकटका व्यक्ति छन् । बाँकी कांग्रेस निकटका छन् ।
अस्पतालको अध्यक्ष माओवादी निकटका डा. विजय न्यौपाने नियुक्त भैसकेकोले कार्यकारी निर्देशक कांग्रेसले पाउनुपर्ने दाबी छ । कांग्रेसले बोर्डमा बहुमत जुटाएर आफू पक्षका कार्यकारी निर्देशक नियुक्ति गर्न सक्ने सम्भावना भएकै कारण बोर्ड सदस्यको नियुक्ति रोकिएको हो ।

कांग्रेसबाट डा. विजय आचार्य र डा. शिवजी पौडेल कार्यकारी निर्देशक बन्ने दौडमा छन् भने माओवादीबाट डा. कृष्णसागर शर्माको दाबी छ ।