डेढ सय किसानलाई ठगेको भन्दै विप्लव समूहले मिटरब्याजीको  घर लिए कब्जामा 

डेढ सय किसानलाई ठगेको भन्दै विप्लव समूहले मिटरब्याजीको  घर लिए कब्जामा 


बैंकिङ्ग समाचार, काठमाडौं । 

मिटरब्याजमार्फत किसानहरूलाई ठगेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवामा एक जनाको घर कब्जा गरेको छ। रुपन्देहीका डेढ सय किसानलाई ठगी गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको हो।

नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बानियाँको घर नियन्त्रणमा लिएको पुष्टि  बताए। उनले किसानबाट ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानलाई ठगी गरेको गुनासो गरेपछि पार्टीले बानियाँको घर कब्जा गरेको बताए । बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठीबास लगाएको, कैयौंलाई घर छाडेर भाग्न बाध्य बनाएको उनको भनाइ छ। 

बानियाँको ठगी धन्दाविरुद्ध जिल्ला प्रशासन कार्यलयमा समेत दर्जनौं उजुरी परेको विकले बताए। २०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले बेवास्ता गरेपछि पीडित ऋणीहरूले नेकपामा लिखित उजुरी दिएका थिए। 

प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित विरोध सभा आयोजना गरेको थियो। सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले सम्बोधन गरेका थिए।