बचतकर्ताको ६० लाख लिएर फरार रहेका सहकारीका अध्यक्ष एक वर्षपछि पक्राउ 

बचतकर्ताको ६० लाख लिएर फरार रहेका सहकारीका अध्यक्ष एक वर्षपछि पक्राउ 


बैंकिङ्ग समाचार, काठमाडौं । 

एक बर्षदेखि बचत गरेको सयौँ बचतकर्ताको ६० लाख रुपैयाँ  लिएर फरार रहेका  सहकारीका अध्यक्ष पक्राउ परेका छन् । धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबाबु यादव जनकपुरबाट पक्राउ परेका हुन् । उनलाई बचतकर्ताहरुले अर्धनग्न बनाएर कुटपिट समेत गरेका थिए  ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर नं ७ मा रहेको श्रमजीवि वचत तथा ऋण सहकारी संस्था लिमिटेडका ४२ वर्षीय अध्यक्ष रामबाबु यादवलाई वचकर्ताहरुले जनकपुर उपमहानगरपालिका ९ वंशीचोकबाट पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
प्रहरी र बचतकर्तादेखि भाग्दै हिँडेका यादव जनकपुरमै आफन्तको घरमा लुकिछिपी बसेको भन्ने थाहा पाएपछि बचतकर्ताले उनी बसिरहेको घर घेराउ गरी समातेर प्रहरीको जिम्मा लगाएका हुन् । सयौँको संख्यामा उनी बसेको घर घेर्न पुगेका बचतकर्ताले उनलाई निवस्त्र प्रहरीको जिम्मा लगाएका छन् ।

स्थानीयका अनुसार पक्राउ गर्ने क्रममा आक्रोशित भीडले उनीमाथी हातपात पनि गरेको थियो । यादव सबैला, खरीहानी, ठिल्लाका ७ सय ५० जना बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर एक वर्षदेखि अघि नै फरार भएका थिए । हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।