१० ठुला बैंकको कर्जा प्रवाह ३० खर्ब ९१ अर्ब, कुल कर्जाको ६२.३८ प्रतिशत ओगट्ने यी बैंकको खराब कर्जा परीक्षण

यस्ता छन् १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो’


काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहका आधार ठुलो पोर्टफोलियो बनाएका १० वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु)का लागि बंगलादेशी कम्पनी हवलदार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सले ६२ लाखमा ठेक्का दिइसकेको छ । अब कम्पनीले सबैभन्दा बढी कर्जा प्रवाह गर्ने १० ठुला बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्नेछ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को चैतसम्मको वित्तीय विवरणअनुसार कर्जा प्रवाहका आधारमा १० ठुला वाणिज्य बैंकहरूमा ग्लोबल आईएमई, नबिल, नेपाल इनभेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआइसी एशिया बैंक छन् ।

यी १० ठुला वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कर्जा पोर्टफोलियो ३० खर्ब ६९ अर्ब १३ करोड ६ लाख रुपैयाँ थियो । जसको आधारमा लोन पोर्टफोलियो रिभ्यु हुँदैछ । ०८२ असार मसान्तसम्ममा आइपुग्दा यो ३० खर्ब ९४ अर्ब ८४ करोड १४ लाख ८० हजार पुगिसकेको छ । यद्यपि कर्जा प्रवाहका आधारमा ठुला दश बैंकहरूको सूचीमा भने हेरफेर भएको छैन । अर्थात् कुल कर्जा प्रवाहको ६२.३९ प्रतिशत हिस्सा ओगटिसकेको छ । यो अवधिसम्ममा कुल वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४९ खर्ब ६० अर्ब ४९ करोड १८ लाख ४० हजार पुगेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्मको तथ्यांकका आधारमा १० बैंकको लोन पोर्टफोलियो रिभ्यु हुनेछ । गत आर्थिक वर्षकै परियोजना रहेका कारण राष्ट्र बैंकले चैत महिनासम्मको तथ्यांकका आधारमा वाणिज्य बैंकहरुको सम्पत्ति गुणस्तर परीक्षण गर्न लागेको हो । कार्यकारी निर्देशक सिग्देलले १० ठुला बैंक छनोट भने बैंकको लगानी र सम्पत्तिको आधारमा गर्ने बताए । ‘बैंकको ऋण र लगानीको आधारमा ठुला बैंक छनोट गरिन्छ,’ उनले बैंकिङ्ग समाचारसँग भने ।

बैंकहरुको सम्पत्तिको रूपमा कर्जालाई लिने गरिन्छ । जसकारण बैंकले गरेको लगानी फिर्ता आयो भने सम्पत्ति बढ्न पुग्छ । यता, बैंकहरुको कर्जा खराब कर्जामा परिणत हुन थाले भने बैंकको सम्पत्तिमा पनि प्रभाव पर्छ । बैंकहरुले भविष्यमा आउने जोखिमबाट बच्न कर्जाको प्रोभिजनिङ पनि गर्दै आइरहेका छन् । तर बैंकहरुले गरेको प्रोभिजनिङ प्रर्याप्त छ छैन भनेर बुझ्न नै अन्तर्राष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउन लागेको कार्यकारी निर्देशक सिग्देल बताउँछन् ।

एउटा बैंकको कम्तीमा ३५ प्रतिशत कर्जाको जोखिम विश्लेषण

नेपाल राष्ट्र बैंकले लोन पोर्टफोलियो रिभ्यु गर्दा प्रत्येक सहभागी बैंकको कुल कर्जा प्रवाहमध्ये कम्तीमा ३५ प्रतिशत हिस्सालाई कर्जा जोखिमका आधारमा अध्ययन गर्नुपर्ने कार्यशर्त दिएको छ । बैंकको सबैभन्दा ठुला ५० वटा निष्क्रिय (फिर्ता नआएको वा असुलीमा समस्या भएको) कर्जाको समीक्षा गर्नुपर्ने कार्यशर्त छ । त्यस्तै ५० ठुला पुनः संरचना गरिएका वा पुनर्तालिकीकरणमा परेका कर्जा पनि समीक्षामा पर्नेछन् । त्यसबोहक असुलीमा समस्या नदेखिए पनि बैंकको पोर्टफोलियोमा ठुलो हिस्सा ओगट्ने ५० ठुला कर्जाको पनि समीक्षा हुने छ ।

बैंकसँग सम्बन्धित पक्षलाई दिइएको कर्जा, नियामक पुँजीको ५ प्रतिशतभन्दा बढी पुगेको कर्जा पोर्टफोलियो पनि परीक्षणमा पर्नेछन् । स्वार्थ जोडिएका ऋणीलाई दिइएको कर्जा पनि परीक्षण गर्नुपर्ने कार्यशर्त छन् । निर्देशित कर्जा, सहुलियतपूर्ण कर्जा र दोहोरिने कर्जा जस्ता सम्भावित जोखिमयुक्त कर्जामा विशेष ध्यान दिनुपर्ने कार्यशर्त छन् ।

यस अवधिमा सबैभन्दा बढी कर्जा पोर्टफोलियो भएको बैंकमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको कर्जा प्रवाह ४ खर्ब ४० अर्ब ६२ करोड २१ लाख १० हजार पुगेको छ । यो कुल कर्जा प्रवाहको ८.८८ प्रतिशत हो । त्यसपछि नबिल बैंक दोस्रो स्थानमा छ, जसको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब २ लाख ८४ हजार ८०० रहेको छ । यसले कुल कर्जा प्रवाहको ८.६९ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ, जसले ३ खर्ब ५६ अर्ब ५७ करोड ६२ लाख २० हजार कर्जा प्रवाह गरेको छ, जसको हिस्सा ७.१८ प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य बैंकले ३ खर्ब ८ अर्ब ९० करोड ३ लाख ५२ हजार कर्जा प्रवाह गरी चौथो स्थानमा छ । जसको हिस्सा ६.२२ प्रतिशत छ । पाँचौँ स्थानमा रहेको कुमारी बैंकले २ खर्ब ९२ अर्ब ३१ करोड २ लाख ६३ हजार कर्जा प्रवाह गरेको छ । यसको हिस्सा ५.८९ प्रतिशत छ । लक्ष्मी सनराइज बैंकले २ खर्ब ८७ अर्ब २५ करोड ६ लाख ५० हजार (५.७९ प्रतिशत), हिमालयन बैंकले २ खर्ब ५४ अर्ब ३३ करोड ६ लाख ८४ हजार (५.१३ प्रतिशत), एनएमबी बैंकले २ खर्ब ४३ अर्ब ३० करोड ११ हजार (४.९० प्रतिशत), प्रभु बैंकले २ खर्ब ४१ अर्ब १७ करोड ५ लाख ५६ हजार (४.८६ प्रतिशत) र एनआइसी एशिया बैंकले २ खर्ब ३९ अर्ब ३२ करोड ८ लाख १७ हजार (४.८२ प्रतिशत) कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाहमा यी १० ठुला बैंकहरूको हिस्सेदारी दुई तिहाइ नजिक पुगेको छ । यसले नेपालको बैंकिङ्ग क्षेत्रमा कर्जा प्रवाह उच्च रूपमा सीमित संख्यामा रहेका ठुला बैंकहरूमै केन्द्रीत भएको स्पष्ट देखाएको छ । १० ठुला वाणिज्य बैंकको औषत खराब कर्जा ५.०५ प्रतिशत वाणिज्य बैंकहरूको कर्जा प्रवाहको गुणस्तरमा देखिएको जोखिम र स्थायित्व बुझ्न निष्क्रिय कर्जा अनुपात (एनपीएल) महत्त्वपूर्ण सूचक मानिन्छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार, १० ठुला वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ५.०५ प्रतिशत छ । यद्यपि, यसमा बैंकपिच्छे ठुलो भिन्नता देखिएको छ ।

सबैभन्दा बढी निष्क्रिय कर्जा अनुपात हिमालयन बैंकमा छ । यो बैंकको एनपीएल ७.२८ प्रतिशत पुगेको छ । यसले हिमालयन बैंकको कर्जा पोर्टफोलियोमा जोखिमको स्तर बढी रहेको स्पष्ट देखिन्छ । त्यस्तै, दोस्रो उच्च अनुपात एनआईसी एशिया बैंकमा ६.२८ प्रतिशत र तेस्रोमा कुमारी बैंक मा ६.१२ प्रतिशत देखिएको छ । यी दुवै बैंकमा पनि कर्जा जोखिम औसतभन्दा उल्लेख्य रूपमा उच्च अनुपातमा देखिएको छ । यसबाट यी बैंकहरूले कर्जाको गुणस्तर सुधार गर्नुपर्ने देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को निष्क्रिय कर्जा अनुपात ५.८५ प्रतिशत छ । ग्लोबल आईएमई बैंक ४.८७ प्रतिशत, प्रभु बैंक ४.९६ प्रतिशत र नबिल बैंक ४.२० प्रतिशतमा छन् । यी बैंकहरूको अनुपात औसतको नजिक भए पनि अझ स्थायित्वका लागि सुधार आवश्यक देखिन्छ । सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात राष्ट्रिय वाणिज्य बैंकमा २.७५ प्रतिशत छ । जसले तुलनात्मक रूपमा सुरक्षित कर्जाको पोर्टफोलियो रहेको देखाएको छ । एनएमबी बैंकको यस्तो अनुपात ३.७२ प्रतिशत र सनराइज बैंक ४.१२ प्रतिशतमा छन् । यो औसतभन्दा न्यून अनुपात हो ।