समय तालिका बनाएर प्रशासनिक सेवा दिन चेम्बरको सुझाव

समय तालिका बनाएर प्रशासनिक सेवा दिन चेम्बरको सुझाव


बैंकिङ्ग समाचार, काठमाडौं । 

 नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो ।

अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वय मार्फत जनतासंग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिईएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

‘समयवद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदा समेत घण्टौ लाईन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ’ उनले भने ।

यस्तै संसदमा विचाराधीन अधिकांश आर्थिक विधेयकहरुलाई अगाडि बढाउन सहजीकरण गरीदिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ । चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘निजी क्षेत्रसँग सम्वन्धित आर्थिक तथा अन्य विधेयकहरु समयमै पारित हुन नसकेकाले कतिपय समस्याहरु सम्वोधन हुन सकेका छैनन, यसका लागि यसका लागि पनि सहजिकरण गरीदिनुहुन अनुरोध गर्दछौं।’

चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा समेत जोड दिएको छ । खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रर्वद्धनका लागि विदेशी लगानी सम्मेलन यथाशिघ्र आयोजना गर्न समेत चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ ।

वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न समेत आग्रह गरिएको चेम्बर अध्यक्ष मल्लले बताए ।

‘विश्वमा सूचना प्रविधीयुक्त सेवाको माग दिनप्रतिदिन वृद्धि भएकाले हाम्रा युवाहरुलाई स्वदेशमै अन्तराष्ट्रिय ठूला आईटी कम्पनीहरुको व्याकअपका रुपमा काम गर्ने व्यवस्था जीटुजी मार्फत गरेर आईटी उद्योगहरुलाई विकास गरिनुपर्दछ।’

चेम्बर पदाधिकारीहरुसंगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशिल रहेको भन्दै उनले यसका लागि दीर्घकालीन नीतिगत योजना बन्ने काम भइइरहेको बताए ।

जनताको सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासंग पनि जोडिएको उनको भनाइ छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा। अर्यालले अन्तराष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए ।