२ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन नपाउने 

२ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन नपाउने 


बैंकिङ्ग समाचार, काठमाडौं ।

२ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि वित्तीय सचेतना सम्बन्धी सूचना जारी गर्दै यस्तो बताएको हो। केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ ।

आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा , चेकको स्टप पेमेन्ट गर्दा र ब्यालेन्स सर्टिफिकेसन गर्दा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल।इन्टरनेट बैंकिङको युजरनेम।पासवर्ड हराएमा, २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएसलगायतका सेवा प्रदान गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै अन्य सेवाबापतको शुल्क कोही संस्थाले निर्धारण गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय सेवाको पारदर्शिताका लागि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने प्रावधान रहेको सूचनामा उल्लेख छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले शुल्कसम्बन्धी विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने गर्दछन् । कुनै पनि सेवा लिनुअघि यससम्बन्धी विवरण अध्ययन गर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ ।

विद्युतीय भुक्तानी तथा एटीएमबाट हुने कारोबार र कर्जासम्बन्धी शुल्कहरुमा भने राष्ट्र बैंकबाट सीमा निर्धारण गरिएको छ। 

सूचना भनिएको छ : 

वित्तीय चेतनाका लागि .
आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (Good for Payment चेकसमेत), चेकको Stop Payment गर्दा, Balance Certification गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, Mobile / Internet banking को Username / Password हराएमा, रू.२ लाखभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएसलगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ भने अन्य सेवाबापतको शुल्क सोही संस्थाले निर्धारण गर्ने गर्दछन् ।
वित्तीय सेवाको पारदर्शिताको लागि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने प्रावधान रहेकोले यी संस्थाले शुल्कसम्बन्धी विवरण (Standard Tarrif and Charges ) आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने गर्दछन् । कुनै पनि सेवा लिनुअघि यससम्बन्धी विवरण अध्ययन गर्नुपर्दछ ।
स्मरण रहोस्, विद्युतीय भुक्तानी तथा ATM बाट हुने कारोबार र कर्जासम्बन्धी शुल्कहरूमा भने यस बैंकबाट सीमा निर्धारण गरिएको छ ।

\"\"

गुनासो दर्ता गर्ने अनलाइन पोर्टलः
www.gunaso.nrb.org.np
वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नं.: ०१-४४१५१५८