पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छः अर्थमन्त्री

पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छः अर्थमन्त्री


बैकिङ्ग समाचार, काठमाडौं ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्। अर्थमन्त्री महतले संसद्‍मा आ.व २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताए।

महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताए। उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए।’

कोभिडको प्रभाव, रुस–युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको भन्दै विगतदेखिका समस्या एकै पटक नसल्टिने समेत उनले बताए।

बजेटमा विपक्षी दलका नेताले २ घण्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा भएको पुष्टि हुने उनले बताए। ‘यसबाट पुष्टि हुन्छ, बजेटमा केही महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ’, उनले भने।

बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भीरताका साथ हेरेको उनले बताए। आईटी क्षेत्र, स्टार्टअपका विषय यसतर्फ केन्द्रित रहेको उनको भनाइ छ। बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको उनले बताए। बजेटमा आएका नाराहरु कार्यक्रमसँग सम्बन्धित रहेको बताए।

अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए। महतले भने, ‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो र चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो।’

आफ्नो उत्पादनलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने उनले बताए। ‘आलु, प्याज पनि विदेशबाट आयात गर्ने र ? आफैं उत्पादन गरेर खानुपर्‍यो,’ उनले भने।