काठमाडौं- विगत लामो समयदेखि कर्जा प्रवाहमा सुस्त देखिएका वाणिज्य बैंकहरू पछिल्लो समय कर्जा विस्तारमा आक्रमक देखिन थालेका छन् । आर्थिक गतिविधि चलायमान बन्न थालेसँगै बैंकहरूको कर्जा प्रवाह समेत बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/८२ मा वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा उल्लेख्य वृद्धि गरेका छन् । एक वर्षमा कुल कर्जा प्रवाह अघिल्लो वर्षको ४५ खर्ब ६९ अर्ब रुपैयाँबाट बढेर करिब ४९ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।
उपभोगमा बढ्न थाल्यो कर्जा
बैंकहरूले सबैभन्दा बढी उपभोग कर्जा प्रवाह गरेका छन् । यो शीर्षक अन्तर्गतको कर्जा ८ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर करिब ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । सर्वसाधारणको व्यक्तिगत खर्च, आवासीय सुविधा र सवारीसाधन खरिदमा बढ्दो रुचिले यस्तो कर्जाको माग बढेको हो ।

ऊर्जा क्षेत्रमा आकर्षण
विद्युत्, ग्याँस र पानी क्षेत्रमा प्रवाह भएको कर्जा पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको कर्जा गत आवमा ४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । जलविद्युत् तथा वैकल्पिक ऊर्जामा बढ्दो लगानीको संकेत दिएको छ ।
कृषि क्षेत्रमा घट्दो प्रवाह
कृषि तथा वनसम्बन्धी क्षेत्रमा भने कर्जा प्रवाह घटेको देखिन्छ । अघिल्लो वर्ष ३ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा गएको आर्थिक वर्षमा ३ खर्ब १८ अर्ब ६५ करोडमा झरेको छ । माछापालन र खनिज क्षेत्रमा पनि कर्जा केही घटेको तथ्याङ्कले देखाउँछ ।
पर्यटन, निर्माण, बीमा र रियलइस्टेटमा वृद्धि
पर्यटन सेवामा कर्जा प्रवाह १ खर्ब ९९ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै निर्माण क्षेत्रमा १ खर्ब ८२ अर्ब रुपैयाँबाट २ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । वित्त, बीमा र रियलस्टेट क्षेत्रमा पनि उल्लेख्य वृद्धि भएको छ । यो क्षेत्रमा ३ खर्ब २१ अर्ब रुपैयाँबाट बढेर करिब ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।
खुद्रा व्यापारमा पनि सुधार
सबै क्षेत्रमध्ये थोक तथा खुद्रा व्यवसाय ले अझै ठूलो हिस्सा ओगटिरहेको छ । अघिल्लो वर्ष ९ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा गएको वर्ष ९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।





About Us
प्रतिक्रिया