बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिने क्रम रोकिएन, ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज भदौ १ गते ६० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिदा राष्ट्र बैंकले सो निक्षेप संकलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले भदौ लागेपछि आज पहिलोपटक निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले ३१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले आज ३ः०० बजेसम्म अनलाइन मार्फत आवेदन दिन पाउनेछन् । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असोज १ गते हुनेछ । यस्तै, यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्नसक्नेछन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । यता निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले बताएको छ ।