पेस्तोल देखाएर फिल्मी शैलीमा महोत्तरीमा बैंक लुटपाट

पेस्तोल देखाएर फिल्मी शैलीमा महोत्तरीमा बैंक लुटपाट


बैंकिङ समाचार, काठमाडौं । 

महोत्तरीको एनएमबी बैंकको शाखामा पेस्तोल देखाएर फिल्मी शैलीमा लुटपाट भएको छ । मंगलबार मध्याह्न १२ बजेतिर महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गरेको हो ।

नकाब लगाएको ४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई खबर गरे गोली ठोक्ने धम्की दिँदै लुटपाट गरेका हुन् । 

बैंकको उक्त शाखामा कर्मचारीलाई  हतियार देखाएर लुटपाट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिएका छन् । ‘बैंकको उक्त शाखामा मोटरसाइकलमा आएका ४ जनाको हतियारधारी समुहले पेस्तोल देखाएर रकम लुटेको हो ।’, उनले भने, ‘बैंकका कर्मचारीलाई हतियार देखाएर काउन्टरमा भएको रकम सोरसार पारी लुटेको भेटिएको छ । उनीहरुको खोजीकार्य गरिरहेका छौँ ।’

बैंकबाट ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भीक अनुमान छ । हाल लुटेराकोे खोजीकार्य तिव्र पारिएको छ । बैंक लुट्ने को हुन् भन्ने अझै पनि खुलेको छैन ।