वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २० लाख बढी ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका– ७ बस्ने तनहुँ भानु नगरपालिका– ११ घर भएका ५५ वर्षीय योगराज गुरूङ, काठमाडौं चन्द्रागिरी नगरपालिका– ४ बस्ने सर्लाही लालबन्दी नगरपालिका– ४ घर भएका ३८ वर्षीया खेम कुमारी श्रेष्ठ मानन्धर, काठमाडौं टोखा नगरपालिका– ७ बस्ने बाग्लुङ जैमिनी नगरपालिका– ८ घर भएका ५२ वर्षीय रामचन्द्र शर्मा र ललितपुर, ललितपुर महानगरपालिका– १४ बस्ने सुनसरी धरान उपमहानगरपालिका– ११ घर भएका ६२ वर्षीय राजु मगर रहेका छन् । 

पक्राउ परेकामध्ये योगराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ, खेम कुमारीले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख रुपैयाँ, रामचन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३५ हजार रुपैयाँ र राजुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।  

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगराजलाई टोखा नगरपालिका– ९ बाट, खेम कुमारीलाई काठमाडौं महानगरपालिका–९ बाट र रामचन्द्रलाई काठमाडौं टोखा नगरपालिकाबाट बुधबार तथा राजुलाई ललितपुर महानगरपालिका–१४ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।