रविको पक्षमा हस्ताक्षर गर्न आउँदा बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ


काठमाडौं – सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका बालयौन दुराचारीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । गत वैशाखमा उनले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरे पनि उनी धरौटीमा छुटेका थिए।

कोइरालालाई सुनसरी जिल्ला अदालतले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो । बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भएको थियो।