बैंकको ब्याजदर घट्दै :  कर्जाको ब्याजदर पनि हरेक महिना परिवर्तन गर्नुपर्ने

बैंकको ब्याजदर घट्दै :  कर्जाको ब्याजदर पनि हरेक महिना परिवर्तन गर्नुपर्ने


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले एक त्रैमासमा (तीन महिनामा) एक पटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था हटाएको छ। यसअघि एक त्रैमासमा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था संशोधन गरेर मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो।

कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ , राष्ट्र बैंकको निर्देशनमा भनिएको छ। यसअघि त्रैमासिक रूपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने सकिने उल्लेख गरिएको छ। 

राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्ने भएको छ। 

त्यस्तै बैंकहरूले आधार दर गणना गर्दा मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यस्तै यसअघि कर्जाको आधार दरभन्दा कम ब्याजदर कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरिएकोमा अब भने पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम गर्न नपाइने व्यवस्था गरिएको छ। यसको अर्थ मासिक आधार दरभन्दा कममा ऋण प्रवाह गरिए पनि त्रैमासिक आधार दरमा व्यवस्थापन गर्न सकिने हो।