भ्रष्टाचारको विषयमा बोल्न नदिएको भन्दै संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह

 भ्रष्टाचारको विषयमा बोल्न नदिएको भन्दै संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह


बैंकिङ्ग समाचार,काठमाडौं।

प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले संसद्‍मा बोल्न नदिएपछि विरोध गर्दै कपडा खोलेको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न खोजेपछि सभामुखले समय नदिँदा सांसद् अमरेशकुमारले माथिल्लो शरिरको कपडा फुकालेका थिए। सांसद् अमेरशकुमारले कपडा खोलेपछि सभामुखले उनलाई ध्यानाकर्षणसमेत गराएका थिए।

संसद् भवनबाट बाहिरिने क्रममा सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन। यो बाहेक मेरो विकल्प थिएन।’ स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए । प्रतिनिधिसभाको नियमावलीको नियम २१ मा संसदमा हुने छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम सम्बन्धी व्यवस्था छ ।

सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।

संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ । यो नियमावलीको व्यवस्था उलंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने चेतावनी दिएका थिए ।