लघुवित्त संस्थाहरूले खाता सञ्चालन गरेबापत शुल्क नलिन राष्ट्र बैंकको निर्देशन 

लघुवित्त संस्थाहरूले खाता सञ्चालन गरेबापत शुल्क नलिन राष्ट्र बैंकको निर्देशन 


बैकिङ्ग समाचार, काठमाडौं ।

लघुवित्त वित्तीय संस्थाहरूले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै खालको शुल्क लिन नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । सेवाग्राहीको वित्तीय चेतनाका लागि भन्दै राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचनामा बचत र निक्षेप खाता सञ्चालन गरेबापत लघुवित्तहरूले शुल्क लिन नपाउने उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाहरूको नियामक राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार, कर्जा प्रवाह गर्दाचाहिँ लघुवित्तहरूले १ दशमलव ५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछन् । एक वर्षभन्दा कम अवधिको कर्जा दिँदा वार्षिक १ दशमलव ५ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिका आधारमा दामासाहीले मात्र लघुवित्तहरूले सेवा शुल्क लिन पाउनेछन् । 

लघुवित्त वित्तीय संस्थाले यसबाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । उक्त संस्थाबाट गुनासो सम्बोधन नभएमा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा गर्न पाइने केन्द्रीय बैंकले जनाएको छ । 

\"\"