अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


बैंकिङ्ग समााचार,काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै प्रधानमन्त्री प्रचण्डले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको उनको भनाइ थियो । तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उनले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने बताए ।​ त्यसैगरी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केबलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन र विकासका काम समयमै पूरा हुने वातावरण बनाउन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबलकार लगायतका परियोजनाले प्रस्तुत गरेको बताए ।

मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकीय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुँदै जाने अध्यक्ष ढकालको भनाइ थियो ।