सरकारले ट्रेजरी बिलमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले ट्रेजरी बिलमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले करिब साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २८ अर्ब ६० करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार ८ अर्ब ६० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ६० अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक साढे २८ अर्ब आन्तरिक ऋण उठाउन लागिएको हो ।

पछिल्लो पटकको बोलकबोलमा ९.५५ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंकले सबैभन्दा बढी ९.८९ प्रतिशत र सबैभन्दा कम ७.७१ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । सोही अनुसार अहिले विभिन्न औजारमार्फत आन्तरिक ऋण उठाइरहेको छ ।