भन्सार विभाग प्रमुखलाई अर्थमन्त्रीको प्रश्न : ‘भन्सार नाकाबाट विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबर के हो ?’ 

भन्सार विभाग प्रमुखलाई अर्थमन्त्रीको प्रश्न : ‘भन्सार नाकाबाट विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबर के हो ?’ 


बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरूसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गरेका छन्।

सोमबार काठमाडौँमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा.महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका थिए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिए।

अर्थमन्त्री महतले भने, ‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छरु त्यो भन्सार नाकामा आयातको प्रगति के छरु त्यसको मूल्याङ्कन मलाई चाहिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राजश्व धेरै कम भएको छ। त्यहाँ पनि राजश्व चुहावट भएको भन्ने व्यापक खबर छ। सबै भन्सार नाकाको अवस्था त्यस्तै भएकाले यहाँहरूले गम्भीरताका साथ लिनुहोला।

मेरो नेतृत्वमा अर्थमन्त्रालय पारदर्शी रूपमा काम गर्न चाहन्छौँ। नतिजा देखाउन चाहन्छौँ। त्यसमा भन्सार विभाग प्रमुख हो। त्यसको लागि सक्षम नेतृत्वको आवश्यक छ। जसले नेतृत्व लिनुभएको छ यसले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ।’

उनले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरू नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरूको ध्यान जान आवश्वयक रहेको बताए। उनले भन्सार नाकाबाट नै विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशनसमेत दिए।