बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ६ गते विशेष साधारण सभा गर्ने भएको छ । सभा टाईगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०:३० बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो ।
सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै यी तीन कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । तीनओटै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी गाभ्ने गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ एक आपसमा गाभ्ने गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
सभामा मर्जर सम्बन्धी सम्पूर्ण आवश्यक कार्यहरु गर्ने लगायतका आवश्यक कार्य गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै सभाले यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ एक आपसमा गाभिए पश्चात गठन हुने संचालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार संचालक समितिलाई दिने तथा गाभिए पश्चात बन्ने कम्पनीको संचालक समितिमा प्राइम लाइफ र गुराँस लाइफबाट चयन भई आउनु हुने संचालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।
सभाले यूनियन लाइफ इन्स्योरेन्सका साविक संचालक समितिका पदाधिकारीहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भएता पनि गाभिने कार्य सम्पन्न भई साविक तिन वटै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ संचालक समिति गठन भए पश्चात विद्यमान संचालकहरुको कार्यकाल स्वतः समाप्त भएको मानिने साथै नयाँ संचालक समितिको कार्यकाल समेत गाभिए पछि बन्ने संस्थाको प्रथम बार्षिक बिशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्नेछ ।
सभाले मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १, काठमाण्डौमा रहने तथा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने जनाएको छ ।
त्यस्तै यी तीन कम्पनी गाभिए पश्चात कम्पनीको नाम, अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि हुने हुँदा सोहि मुताविक कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संसोधन गरी अधिकृत पूंजी, जारी पूजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले यूनियन लाइफ, प्राइम लाइफेड र गुराँस एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व समेत फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि चैत २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा चैत २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।
प्रतिक्रिया