परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच व्यवसाय प्रवर्द्धनको सम्झौता

परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच व्यवसाय प्रवर्द्धनको सम्झौता


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच समझदारी भएको छ । परिसंघ र चेम्बर अफ कमर्सबीच लगानी,व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको हो । 

समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् ।दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ ।

काठमाडौंमा आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन चेम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्  । 

इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताएका छन्  । 
यस्तै परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले यो सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुवै संस्थाले लबिइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए  ।