भक्तपुरमा चैत २३ देखि सातौँ पर्यटन तथा व्यापार महोत्सव

भक्तपुरमा चैत २३ देखि सातौँ पर्यटन तथा व्यापार महोत्सव


बैंकिङ समाचार, काठमाडौ । 

भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा उक्त महोत्सव हुनलागेको हो ।

महोत्सव चैत २३ गतेदेखि २०८० साल वैशाख ३ गतेसम्म ११ दिने चल्नेछ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुनेछ । महोत्सवमा दुई सयभन्दा बढी स्टल रहनेछन् । 

महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवभर बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक र हास्य व्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।

महोत्सवमा हरेक दिन ब्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । महोत्सवका संयोजक दीपक थापाले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका छन् ।