बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो दिनहरुमा निरन्तरको ओरालो यात्रामा रहेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार अन्ततः वृद्धि भएको छ । आज नेप्से १७.७० अंकले वृद्धि भई १ हजार ९ सय ६ विन्दुमा बन्द भएको छ । हिजो आइतबार नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा दोहारो अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार बढेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३०.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९७.५० रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शनको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६२.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ५ करोड ९० लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया