काठमाडौं – नेपालले चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठसम्म २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यो निर्यात इतिहास कै सबैभन्दा बढी हो। भन्सार विभागको तथ्यांकअनुसार नेपालले गत आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको थियो।
यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ जेठसम्म १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको खर्ब बढीको वस्तु आयात गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात गरेको थियो।
नेपालमा सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यास लगायत आयात गरेको छ। ११ महिनामा डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आयात भएको छ भने कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्क छ।
यस्तै, नेपालबाट बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल, सूर्यमुखी तेल, गलैँचा र अलैँची रहेका छन्। प्रशोधित भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख, सूर्यमुखीको तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैँचा ९ अर्ब ७८ करोड १० लाख र अलैँची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
पाँच वर्ष यता कै बढी निर्यात
कुनै समय ऋणात्मक रहेको नेपालको निर्यात हाल पाँच वर्ष यताकै उच्चतम बिन्दुमा पुगेको छ । कुनै पनि देशबाट हुने निर्यातमा सुधार हुँदा अर्थतन्त्रमा पनि सुधार आउँछ । नेपालले आर्थिक वर्ष २०७७/७८ मा ४४.४३ प्रतिशत बढेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ४१.७४ प्रतिशत वस्तु निर्यातमा सुधार गरेको थियो।
नेपालले आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा १ खर्ब ३० अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल नेपालबाट हुने निर्यातमा सुधार भएर चालु आर्थिक वर्षको ११ महिनामा ७७.७७ प्रतिशत बढी वस्तु निर्यात गरेको छ।
नेपालले सबैभन्दा बढी वस्तु भारतलाई बेचेको छ। नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात गर्दा भारतलाई मात्रै २ खर्ब ८९ करोड ८१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। त्यस्तै, नेपालले १६ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ बराबरको वस्तु अमेरिकालाई बेचेको छ।
नेपालले बिजुली निर्यातमा जोड दिँदा केही निर्यात बढेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला बताउँछन्। प्राथमिक वस्तु निर्यात हुने क्रममा सुधार हुँदा निर्यात बढेको बताए। हाल पनि नेपाल १३ खर्बको व्यापार घाटामा रहेको भन्दै निर्यातलाई जोड दिनुपर्ने उनी बताउँछन्। चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यस अवधिमा भने व्यापार घाटा १३ खर्ब १४ करोड ४४ लाख रुपैयाँ रहेको थियो। पछिल्लो चरण व्यापार घाटा भने बढिरहेको देखिन्छ।
किन निर्यात वृद्धि नारामा सीमित
नेपाली उत्पादनहरूले अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन नसक्दा नेपाल निर्यातमा पछि परेको देखिन्छ । नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार कम हुने हुँदा निर्यात बढाउन नसकेको हो ।
सरकारले बजार अनुसन्धान, उत्पादन विकास र नवप्रवर्तन लगानीमा जोड नदिँदा वस्तु वा बजार पहिचानमा पनि समस्या सिर्जना भइरहेको छ । वैदेशिक व्यापारमा असन्तुलनका कारण पनि नेपाल निर्यातमा अघि बढ्न सकेको देखिँदैन ।
विभागका निर्देशक बर्तौलाकाअनुसार उत्पादन गुणस्तरीय हुन नसक्दा, वस्तुको मूल्य मंहगो पर्न जाँदा, अन्य देशको वस्तुलाई चुनौती दिने गरी प्रतिस्पर्धा गर्न नसक्दा नेपालबाट हुने निर्यात कमी आउने गरेको हो । ‘हाम्रो अर्थतन्त्र नै आयातले धानेको छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘प्राथमिक वस्तु मात्रै नेपालबाट बाहिर जाने हुँदा निर्यात कम भएको हो । अब नेपालले बंगलादेशलाई पनि विद्युत् निर्यात सुरु गरेको छ जसकारण निर्यात बढ्नेमा हामी अपेक्षित छौं ।’



About Us
प्रतिक्रिया