बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज अर्थात् आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार चैत ११ गते साँझ ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ११ लाख ४८ हजारभन्दा बढीले आवेदन दिएका छन् । यी आवेदकहरूबाट १ करोड २९ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर खरीद माग भएको हो । जुन कम्पनीले माग गरेको आवेदनको तुलनामा करीब ४ गुणा बढी हो ।
कम्पनीले जारी पूँजी रू. १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारी, सामूहिक लगानीकोषका लागि शेयर सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासन गरेको हो ।
कम्पनीले ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया