युएई, अजरबैजान र डेनमार्क पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका– ३ बस्ने इलाम सूर्योदय नगरपालिका- ७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने तनहुँ भिमाद नगरपालिका–४ घर भएका २७ वर्षीय शेर बहादुर कुमाल र काठमाडौं टोखा नगरपालिका–५ बस्ने मकवानपुर थाहा नगरपालिका- ३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेका छन् । 

पक्राउ मध्ये टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टंकनाथलाई भक्तपुर सूर्यविनायक नगरपालिका -३ बाट, शेरबहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र अशिमलाई काठमाडौं टोखा नगरपालिका–५ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।