विराटनगर – चालु आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको समग्र खर्च ५७ प्रतिशत रहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु आवको अन्तिम महिना असार अघि उक्त बजेटको ५७ प्रतिशत अर्थात् २० अर्ब १० करोड ९९ लाख ९३ हजार ३३१ रुपैयाँ ९ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
गत वैशाख मसान्तदेखि जेठ मसान्तसम्मको एक महिनामा १० प्रतिशत खर्च बढेको हो । वैशाख मसान्तसम्म १६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ समग्र खर्च गरेको जनाइएको छ । गत वर्षको तुलनामा यस अवधिको वैशाख सम्म ४ दशमलव ४ प्रतिशत बढी खर्च भएको कार्यालयले जनाएको छ । सरकारको विकास खर्च जनाउने पुँजीगत तर्फ ४९ दशमलव १५ प्रतिशत रकम खर्च भएको जनाइएको छ ।
चालु आवमा पुँजीगत तर्फ १७ अर्ब ३५ करोड ८७ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्म ८ अर्ब ५३ करोड २० लाख २२ हजार ७७ रुपैयाँ १४ पैसा खर्च भएको जनाइएको छ । लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आव २०८०–८१ को तुलनामा चालु आवमा समग्र खर्च प्रतिशत बढ्ने अनुमान रहेको छ । जेठसम्मको ५७ प्रतिशत खर्च मध्ये चालु तर्फ (स्थानीय तहलाई वित्तीय हस्तान्तरण समेत) ६४ दशमलव ६८ प्रतिशत खर्च भएको छ ।
चालुतर्फको १७ अर्ब ९० करोड ५ लाख ३८ हजार मध्ये ११ अर्ब ५७ करोड ७९ लाख ७१ हजार ९१३ रुपैयाँ ९५ पैसा खर्च भएको हो ।उक्त खर्च मध्ये प्रदेश सरकारले स्थानीय तहलाई ४ अर्ब ८५ करोड ६५ लाख ४० हजार रुपैयाँ वित्तीय हस्तान्तरणका लागि छुट्याएको छ । जेठ मसान्तसम्म ४ अर्ब २४ करोड ८० लाख ८२ हजार ४३२ रुपैयाँ ५१ पैसा स्थानीय तहमा हस्तान्तरण भएको जनाइएको छ । चालु आवमा पुँजीगततर्फ १७ अर्ब ३५ करोड ८७ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा जेठसम्म ८ अर्ब ५३ करोड २० लाख २२ हजार ७७ रुपैयाँ १४ पैसा खर्च भएको जनाइएको छ ।
आजदेखि बजेट छलफल
यसैबीच, कोशी प्रदेश सरकारले प्रदेश सभामा असार १ मा प्रस्तुत गरेको आगामी आव २०८२–८३ को बजेटमाथि आजदेखि छलफल हुँदैछ । आर्थिक मामिला तथा योजना मन्त्री माननीय रामबहादुर मगरले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि बैठकमा सामान्य छलफल हुने प्रदेश सभाका कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले बताए । सामान्य छलफलमा उठेका प्रश्न तथा जिज्ञासामाथि आजै मन्त्री मगरले जवाफ दिने कार्यसूची रहेको उनले जानकारी दिए ।
आइतबार कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री मगरले आव २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उनले कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्ब ६८ करोड ३३ लाख, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन प्रस्तुत गरेका थिए ।
उक्त बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख प्राप्त हुने अनुमान छ । त्यसैगरी संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ४९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख प्राप्त हुने जनाइएको छ ।



About Us
प्रतिक्रिया