बैंकिङ्ग समाचार, काठमाडौं ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ ।
कम्पनीले गत पुस २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । नगद लाभांश भने कम्पनीले माघ ५ गते देखिनै वितरण गर्न सुरु गरेको थियो ।
फागुन २९ गते ७ दशमलव ५ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको कम्पनीले फागुन ३० गतेदेखिनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।
बोनस शेयर हितग्राही खातामै जम्मा हुने भएकाले हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका तथा हितग्राही खातासमेत नखोलेका सदस्यहरूलाई यथाशिघ्र प्रक्रिया पुरा गरी बोनस शेयर तथा नगद लाभांश प्राप्त गर्न कम्पनीले भनेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया