काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसद्हररुले नाराबाजी गरिरहेका छन्। आजको बैठक सुरु भए लगत्तै आकस्मिक समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्ष दलहरूको विरोधकै बीच संसद् अघि बढ्दा आफ्नो दलले बहिस्कार गर्ने बताएका थिए ।
‘संसद्मा रहेका राजनीतिक दलहरुबीच गणितमा फरक होला तर कुनै पनि विचारलाई निषेध गर्ने व्यवस्था संविधानमा छैन, सभामुख एक सिट भएका राजनीतिक दलको पनि अभिभावक हो । अहिले दुई दलले विरोध जारी राख्दा बैठक सञ्चालन गरिनु संसदीय मर्यादाअनुकुल हुँदैन’ , लिङ्देनले भने,‘जबसम्म जबरजस्ती बैठक सञ्चालन हुन्छ, राप्रपाले बहिस्कार गर्छ । बहिस्कार गरेको बैठकको भत्ता सरकारको राजस्वमा जम्मा गर्ने व्यवस्था गर्न आग्रह छ ।’
आकस्मिक समयमा रास्वपा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठनको माग दोहोर्याए । बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बजेटमाथिको छलफल जारी छ ।



About Us
प्रतिक्रिया