अदालतमा विचाराधीन रहेको अग्नि सापकोटासँगको मुद्दामा लेनदेन भयो भन्ने आरोप लगाइनु पूर्वाग्रहपूर्ण  : वर्षमान पुन 


काठमाडौं – नेकपा माओवादी केन्द्रका संसद् एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्षलाई संसद्मा नपेल्न सत्तापक्ष र सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा विनियोजन विधेयक २०८२र०८३ को बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पुनले सङ्ख्याको बलमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने सोच त्याग्न आग्रह गरेका हुन् । रास्वपा लाई पनि बजेटमाथिको छलफलमा सहभागी हुने वातावरण बनाउन उनले आग्रह गरे ।

संसद्को तेस्रो ठुलो र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग दुई बुँदे सहमति भएकाले बाँकीलाई पेलेरै जान सकिन्छ भन्ने नठान्न उनले चेतावनी दिए । संसदीय अङ्कगणित र सत्तापक्ष र प्रतिपक्षीको भूमिका हेरफेर भइरहने विषय ख्याल गर्न उनले सत्तारुढ दलहरूलाई आग्रह गरे । ‘सम्माननीय सभामुखज्यू संसद्को अभिभावक पनि हुनुहुन्छ । सत्तापक्षका साथीहरूलाई पनि जबरजस्ती बल प्रयोग नगरी संयमित ढङ्गले प्रस्तुत हुन आग्रह गर्दछु’, पुनले भने, ‘ प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो । अब यसलाई पेले पनि हुन्छ भन्ने ठान्नु हुँदैन ।  किनभने कहिले को सत्तापक्षमा, कहिले को प्रतिपक्षमा हुन्छ । कहिले कसको सङ्ख्या सानो हुन्छ कहिले कसो ठुलो हुन्छ । संसदीय गणित हेरफेर भइराख्ने कुरा हो ।’

पुनले रास्वपा लाई संसद्मा एक्लाइयो भन्ने ठानेर विगतदेखिका राजनीतिक एजेन्डामा रास्वपा सँग प्रतिशोध साँध्ने मौकाका रूपमा उपयोग खोजिए राम्रो नहुने बताए । ‘यही बेलामा विगतदेखिका केही सानातिना कुरालाई लिएर प्रतिशोध लिइहालौँ भन्नेजस्तो सत्तापक्षले गर्न मिल्दैन । सत्तापक्ष जिम्मेवार बन्नुपर्छ र संसद्को अभिभावकको भूमिकामा रहनुभएको सम्माननीय सभामुख महोदयले उहाँहरूलाई पनि संवादमा ल्याउने र बजेटमा आफ्ना धारणा राख्ने वातावरण बनाउने प्रयास गर्नुपर्छ ।’ 

पुनले केही दिनअघिसम्म मिलेर संसद् अवरुद्ध गरिएको र भिजिन भिसा प्रकरणमा छानबिन गर्ने र त्यसका लागि संरचना बनाउन सत्तापक्षबाट प्रतिबद्धता आइसँगै माग सम्बोधन भएकाले संसद्को नियमित प्रक्रियामा सहभागी हुन आग्रह गरे । ‘हिजो अस्तिसम्म हामी सँगसँगै संसद् अवरोध गरिराखेका थियौँ ।  रास्वपाका माननीयज्यूहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यहाँहरू संसदीय सङ्घर्षमा नयाँ हुनुहुन्छ । हामीले उठाएका कुराहरूको एक ढङ्गले सम्बोधन भएको छ । बजेटमाथिको छलफल वर्षमा एक पटक मात्र हुने कुरा हो । यसमा आफ्नो दलका धारणा राख्नुस्’, पुनले भने । संसदीय सङ्घर्ष गर्दा अनुभवी दलहरूसँग सहयोग लिन पनि रास्वपा लाई पुनको आग्रह थियो । 

पुनले गृहमन्त्री रमेश लेखकले भिजिन भिसा प्रामाणिक नैतिकता प्रदर्शन नगरेको टिप्पणी पनि गरे । तर, आफ्नै दल काँग्रेसभित्रको एक पक्ष, प्रतिपक्षी दल र नागरिक स्तरबाट नैतिकताका आधारमा राजीनामा दिन गरिएको आग्रहलाई गृहमन्त्रीले अस्वीकार गरेको बताए । ‘भिजिन भिसा प्रकरणलाई सम्बोधन गर्न खास गरी हामी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रतिपक्ष दलले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेका थियौँ ।

स्वयं सत्तारुढ पार्टीभित्रै र सदन बाहिर पनि यो विषय उठेका थिए । हामी विपक्षी या आमजनताको तहबाट सम्बन्धित व्यक्तिलाई ध्यानाकर्षण गराउने, सुझाव दिने विषय हो । माननीय गृहमन्त्रीले म राजीनामा दिन्न र बाँकी सबै सरकारका तर्फबाट छानबिन गर्न तयार छौँ भन्ने प्रतिबद्धता आएपछि हामी दुई बुँदेमा सहमत भएका हौँ’, उनले भने । उनले आफूहरूमाथि अदालतमा विचाराधीन रहेको अग्नि सापकोटासँगको मुद्दामा लेनदेन भयो भन्ने आरोप लगाइनु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरे ।