बैंकिङ्ग समाचार, काठमाडौं ।
आज फागुन ११ गते बिहीबार दुई लघुवित्त र एक इन्स्योरेन्स सहित ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु इन्स्योरेन्सले भोली अर्थात फागुन १२ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते अर्थात आइतबार बुकक्लोज गर्दैछन् ।
यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रभु इन्स्योरेन्सले फागुन २३ गते मंगलबार आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै अन्य निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर ५, तनहुँमा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया