बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले ङादी ग्रूप पावर, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले तीन ओटै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
यी कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेकाले फागुन ८ गतेसम्म कायम अन्तिम शेयर मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । फागुन ९ गते सार्वजनिक बिदाका कारण फागुन ८ गतेसम्म कायम शेयरधनी यी कम्पनीको लाभांश पाउन योग्य छन् ।
ङादी ग्रूप पावरको सोमवार कायम अन्तिम शेयर मूल्य रू २७६ को आधारमा प्रस्तावित ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. २६३ दशमलव ४८ तोकेको छ ।
त्यस्तै स्वावलम्बन लघुवित्तको सोमवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार १३० को आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ९८२ दशमलव ६१ तोकेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य रू. ३२६ को आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३१० दशमलव ४८ तोकेको छ । यही मूल्यको आधारमा यी तीन कम्पनीको शेयर बुधबार कारोबारमा आउने छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय वीरगञ्ज, पर्सामा हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १९ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांक्वेट, काठमाडौंमा बिहान १०ः३० बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।
ङादी ग्रूप पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया