बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले उपकार लघुवित्त वित्तीय संस्था र अपि पावरको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले दुबै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
उपकार लघुवित्तको बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ७३७ को आधारमा प्रस्तावित ६१ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. २ हजार ३१० दशमलव ३६ तोकेको हो ।
त्यस्तै अपि पावरको बुधवार कायम अन्तिम शेयरमूल्य रू. २८६ को आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ७ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २६६ दशमलव शून्य ५ तोकेको छ । दुबै कम्पनीका फागुन ३ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १८ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै अपि पावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनको लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १४ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया