मोलुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणलाई बिक्री खुल्ला

मोलुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणलाई बिक्री खुल्ला


बैंकिङ्ग समाचार, काठमाडौं ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज अर्थात् फागुन ४ गते बिहीवारदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन १८ गतेसम्म थप हुनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।