नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन

नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात निर्धन उत्थानको शेयरमूल्य ८३४ रुपैयाँ ४५ पैसा कायम भएको छ भने इन्फिनिटी लघुवित्तको ८३१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात गत आइतबार निर्धन उत्थान लघुवित्तको शेयर प्रतिकित्ता ९९३ रुपैयाँ र इन्फिनिटी लघुवित्तको ९९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

निर्धन उत्थान लघुवित्त (NUBL) ले फागुन १२ गते बिहान १० बजे, लघुवित्तको केन्द्रिय कार्यालय, नक्सालमा २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २ करोड १९ लाख ५० हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ । यस्तै सभाले संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी समेत गरेको छ ।

त्यसैगरी, इन्फिनिटी लघुवित्त ले फागुन १३ गते बिहान ११ बजे, सहमति संस्था, विजय चोक गैंडाकोट नवलपरासीमा छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४१ करोड ४५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ।

यही समायोजित मूल्यलाई आधार मानेर यी लघुवित्तहरुको मंगलबार दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।