बैंकिङ्ग समाचार, काठमाडौं ।
सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ आज माघ २३ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ र २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको शेयर खरीद गर्न न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । छिटोमा माघ २६ गतेसम्म आवेदन दिने अवधि तोकिएकोमा उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा फागुन ८ गतेसम्म विक्री अवधि लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ छिटो अवधि माघ २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया