कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, ८९ हजार ६ सय ४० जनाले पाए १० कित्ता शेयर

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, ८९ हजार ६ सय ४० जनाले पाए १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा बिहिबार बिहान कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट गरिएको छ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाएका छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार आइपीओमा मागभन्दा १८ दशलमव ५२ गुणा बढी आवेदन परेको थियो । आइपीओमा कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल ८९ हजार ६४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली भएको छ ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी रू. ६० करोड बराबरको १८ प्रतिशतले हुन आउने रू. १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।